बुवाले गराइदिए छोराको चौरासी

बुवाले गराइदिए छोराको चौरासी

परासी, १४ कात्तिक

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् ।

सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँने सौभाग्य पाएका हुन् ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साईला छोरा हरिप्रसादले बताए ।

केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय बाबुराम रहेका छन् ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई आशीर्वाद दिएका छन् । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले आफ्नो चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए ।