सुन्तला बाँदरले सखाप पारेपछि पाल्पाका किसान चिन्तित

सुन्तला बाँदरले सखाप पारेपछि पाल्पाका किसान चिन्तित

पाल्पा ,४ माघ। 

बोटमा पाकेर पहेँलपुर सुन्तलामा बादर पल्केपछि पाल्पाका किसानलाई सुन्तला जोगाउन सास्ती भएको छ । 

पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तला पनि बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । 

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । 

बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको वडाध्यक्ष हुमानसिंह कार्कीले गुनासो गरे । झण्डै ४ सय किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उनले बताए । “घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदैन, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै बिक्री गरियो”, उनले भने ।

गत वर्ष झण्डै ४ लाखको सुन्तला बिक्री भएको बताउने कार्की यसपालि १ लाखको हाराहारीमा मात्र बिक्री हुने अवस्था रहेको बताए । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो ।  

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी भए पनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । जिल्लाका अधिकांश स्थानमा व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आए पनि बाँदरबाट जोगाउन नसक्दा किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । 

स्थानीयवासी जङगबहादुर आलेका अनुसार वनबाट बस्तीमा आएका बाँदर धपाउन मुस्किल भएको छ । उनले बाँदर धपाउन अहिले एक्लै सकिने अवस्था नरहेको बताए । महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काउन थालेपछि उनी त्रसित बनेका छन् । 

जिल्लाका अधिकांश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरे पनि बाँदर भागेको छैन । बाँदरले बस्ती नजिक आएर किसानले उत्पादन गरेका अन्नबाली, तरकारी, घरभित्र राखिएका वस्तु क्षति गर्न थालेपछि किसान चिन्तित छन् । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बँदेल र पक्षीको सङ्ख्या बढ्दो छ ।

बाँदरले खाँदासम्म खान्छ, बाँकी क्षति गर्ने गर्छ, मृग र दुम्सीले अहिले खेतीमा प्रवेश गरी नोक्सानी गर्न थालेका छन् । पहिला  बाँदर, मृग, दुम्सी र बँदेल बस्ती नजिक देखिएका थिएनन् । अहिले खेतबारीमा नै देखिन थालेको स्थानीय बासिन्दा राधाकृष्ण आलेले बताए।