भुक्तानी नपाएपछि उखु किसान फेरि आन्दोलित, घोषणा गरे कार्यक्रम(विज्ञप्ती सहित)

भुक्तानी नपाएपछि उखु किसान फेरि आन्दोलित, घोषणा गरे कार्यक्रम(विज्ञप्ती सहित)

काठमाडौं, ८ माघ । 

आफुले पाउनुपर्ने भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान फेरी आन्दोलित भएका छन् । 

उद्योगीबाट उठाउन सरकारले किसानसँग सम्झौता अनुसारको बाँकी बक्यौताका लागि २१ दिन मागेर सरकारले झुक्क्याएपछि हालसम्म पनि पुरा रकम नपाएको भन्द उखु किसान फेरि आन्दोलित भएका  हुन् ।

किसानहरुले माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कोला पट्टी बाँधेर खेतमा काम गर्ने र १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक भोकै बसेर खेतमा काम गर्ने लगायतका बिरोध कार्यक्रमको घोषणा गरेका छन् ।

यति गर्दापनि माग सुनुवाई नगरे तेस्रो चरणको आन्दालन घोषणा गर्ने उनीहरुको भनाई छ ।

उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ राय, सचिव हरिश्याम राय र कृषक राम विकास पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'किसानले भुक्तानी पाउनुपर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खाता मार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवं स प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म हाम्रो न्यायिक संघर्षको आन्दोलन जारी रहने छ ।'

उद्योग मन्त्रालयले मौखिक रुपमा गराएको जानकारी अनुसार ६५ करोड रुपैयाँ कबुल गरेको मध्य ५७ करोड भुक्तानी गइसकेको र बाँकी ८ करोड रुपैयाँ रकमपनि उद्योग मन्त्रालयको निर्णयमा आइसकेको भनिएको छ । तर उखु संघर्ष किसान संघर्ष समिति सर्लाहीले उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समयसीमा समाप्त भइसकेको तर हामलसम्म पनि उखु किसानहरुको सम्पूर्ण रकम भुक्तानी गराउन नसकेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,' हालसम्म मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगीबाट भुक्तानी पाउनुपर्ने र कति रकम भुक्तानी पाइसकेको किसानहरुको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन सकेको छैन । सो को विवरण सार्वजनिक नगराई दिँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट सन्देह, शंका तथा उपशंका उब्जिएको छ ।'