सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति, उद्योगलाई २१ दिने अल्टिमेटम

सरकार र आन्दोलनरत उखु  किसानबीच ४ बुँदे सहमति, उद्योगलाई २१ दिने अल्टिमेटम

काठमाडौं, १३ पुस ।

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । 

मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको हो । 

२१ दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउने गरी किसानका तर्फबाट रामस्वार्थ राय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट सहसचिव नारायण रेग्मीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

१६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ । 

२१ दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा थपकारवाही गर्ने सहमति पत्रमा उल्लेख गरीएको छ । 

यसैगरी आजको वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको गरिएको छ । गठित समितिले सबै समस्या अध्ययन गरेर १ सय २० दिनभित्र सुझाव पेस गर्ने छ ।