सम्बन्धविच्छेद गरेका आमिर र किरण एकसाथ टेबुल टेनिसमा रमाउँदै

सम्बन्धविच्छेद गरेका आमिर र किरण एकसाथ टेबुल टेनिसमा रमाउँदै

ऐजेन्सी, ९ साउन ।
केहि साता अघि मात्र सम्बन्धविच्छेद गरेका नायक आमिर खान पूर्वपत्नी किरण रावसँग एकसाथ  टेबुल टेनिस खेलमा रमाउँदै गरको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

आमिर र  किरणले सम्बन्धविच्छेद गर्ने घोषणा गरेको चर्चा सेलाउन नपाउँदै आमिर र किरण  टेबुल टेनिस खेलमा रमाउँदै गरेको फोटो तथा भिडियो देखेर उनका फ्यानहरुले दुबैको प्रशंसा गरेका छन् । अहिले अमिर र किरण सुटिङमा एकसाथ समय बिताइरहेको छन् । 

आमिरको नयाँ फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । यस सुटिङका दौरान पूर्व पत्नी किरण राव र छोरा आजाद पनि आमिरसँगै छन् । स्रोतका अनुसार लाल सिंह चड्ढाको फिल्म युनिटले एक टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ आमिरदेखि टिमका अन्य सदस्य र बालबालिकाले पनि सहभागिता जनाए । 

एउटा तस्बिरमा आमिरले छोरा आजादलाई हौस्याउँदै गरेको देखिन्छ । अर्कोतर्फ किरण रावले छोराको खेल हेरिरहेकी छिन् । अर्को, एक तस्बिरमा आमिरले नै किरणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । 

यसअघि पनि आमिर र किरणका केही भिडियोहरू भाइरल भएका थिए । जहाँ, यो पूर्व जोडीले लद्दाखको परम्परागत पहिरन लगाउँदै स्थानीय नृत्य सिकिरहेको देखिन्थ्यो । 

लाल सिंह चड्ढामा आमिर खान र करीना कपूर मुख्य भूमिका छन् । यो जोडी थ्री इडियट्समा पनि एकसाथ देखिएको थियो । लाल सिंह चड्ढा हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो, यसलाई वर्षको अन्त्यमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।