नेपालमा प्रत्येक २ घण्टामा १ कोरोना संक्रमितको मृत्यु

नेपालमा प्रत्येक २ घण्टामा १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १३ भाद्र । 
नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अर्थात नेपालमा प्रत्येक २ घण्टामा १ कोरोना संक्रमितको दरले मृत्यु भएको मान्न सकिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित अपडेटमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५ पुगेको बताए। 

मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन्। मृतकहरुमा पाल्पा कास्की र भक्तपुरका एकएक जना महिला छन्। पर्सा र ललितपुरका दुईदुई जना, सिरहा, गोरखा कास्की काठमाडौं र भक्तपुरका एकएक जना पुरुषको समेत मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ५५ प्रतिशत  हो। 

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।