८८ हजारले लगाए कारोनाविरुद्दको खोप

८८ हजारले लगाए कारोनाविरुद्दको खोप
file photo

काठमाडौं, १८ माघ ।
कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिनसम्म ८८ हजार सात व्यक्तिले लगाएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७ सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकी प्रदेशमा १२ हजार ३ सय ११, लुम्बिनी प्रदेशमा १० हजार ७ सय ६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा६ हजार ८ सय ७७ जनाले खोप लगाइसकेका छन् । 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १ सय ८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । 

मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।  

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले जानकारी दिए ।  

खोप शाखा प्रमुख गौतमका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ । उनले त्यस्ता असर देखिए पनि लक्षण देखिएका सबै केही समयपछि ठीक भएको जानकारी दिए।