कोरोना संक्रमित बढेपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

कोरोना संक्रमित बढेपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

२१ साउन, काठमाडौं ।
नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन फैलिँदै गएपछि कोरोना महामारी नियन्त्रणका लागि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ ।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा निषेधाज्ञा जारी गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्श समेत गरेका छन् ।

विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका छन् ।