२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ

२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ

साउन ६, कास्की । 

अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गा. वि. स. -७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

मन प्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद भएकोमा कुमारले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो ।

घटना लगत्तै फरार कुमार म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको, करिव २ बर्षपछि भारततर्फ गएको करिब १४ वर्ष भारत बसी बुबाको मृत्यु पश्चात घर फर्केको र कास्की जिल्लाकै बिभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।