आजबाट बिस्केट जात्रा सुरु

आजबाट बिस्केट जात्रा सुरु
तस्विर सौजन्य : insidehimalayas

चैत २७, काठमाडौं । 
नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । 

आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

नयाँवर्षको चार दिन अगाडिदेखि शुरु भई नयाँवर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केटजात्रा भक्तपुरका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । जात्राको पहिलो दिन आज बिहानैदेखि भैरब र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ । 

काठ, फलाम र जस्ता प्रयोग गरी प्यागोडा शैलीमा तीनतले भैरवनाथको रथ तयार भएको छ । काठ र फलामबाटै भद्रकालीको दुईतले रथ बनाइएको छ । भैरवनाथ र पाँचतले मन्दिर अगाडि निर्माण भएका रथको पूजाआजापछि तान्त्रिक विधिअनुसार नै तौमढीका तल्लो र माथिल्लो टोलका बासिन्दाबीच रथ तान्ने प्रतिस्पर्धा हुन्छ ।

जात्रामा झैँ–झगडा र दुर्घटना हुनुको मुख्य कारण नै मदिरा सेवन भएको निष्कर्ष निकाल्दै जात्रा सन्चालन क्षेत्र वरपर मदिरा सेवन र बेचबिखन गर्न निषेध गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उपरीक्षक  श्रेष्ठका अनुसार जात्रा अवधिभर भक्तपुरमा एक हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरीएको छ भने करिब दुई सय सशस्त्र प्रहरीसमेत जात्रामा खटाउने तयारी छ । आवश्यकता अनुसार सेना परिचालनको समेत तयारी छ ।