कोरोना त्रासका कारण यो वर्ष हाँडीगाउँको जात्रा स्थगित

कोरोना त्रासका कारण यो वर्ष हाँडीगाउँको जात्रा स्थगित

काठमाडौं, १५ कार्तिक । 
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । 

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का वडा अध्यक्ष रमेश डङ्गोल जानकारी दिए । जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने वडाध्यक्ष डङ्गोल बताए ।
 
चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । 

जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो । गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । 

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भएको मानिन्छ ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको छ । 
 
देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।