सेयर बजारमा दोहोरो रेकर्ड ब्रेक गर्दै नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

सेयर बजारमा दोहोरो रेकर्ड ब्रेक गर्दै नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौँ, २५ माघ ।
नेप्से सूचक र कारोबार रकमले एतिहासिक रेकर्ड कायम गरेका छन् । 

साताको पहिलो दिन आज नेप्से परिसूचक ४८.७४ अंक अर्थात १.९७ प्रतिशत बढेर २५२४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। कारोबार रकम पनि करिब साढे १० अर्ब हाराहारीमा पुगेको छ ।

आज २०२ कम्पनीको ८७ हजार ६७० पटकको कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्री भएको छ।

करिब ३ दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन्। यस दिन मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ।

यस अघि नेप्से माघ २२ गते २४७५.२६ विन्दुमा पुगेको थियो भने माघ १५ गते ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।