आज अमेरिकामा राष्ट्रपति छान्न निर्वाचन, ट्रम्प र बाइडनको मैदानमा

आज अमेरिकामा राष्ट्रपति छान्न निर्वाचन, ट्रम्प र बाइडनको मैदानमा

काठमाडौं, १८ कार्तिक ।

अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था बमोजिम आज राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

नेपाली समयानुसार आज राति हुने निर्वाचनमा रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडन प्रतिस्पर्धामा छन् ।

अमेरिकाकोचुनाव संसारभरको चासोको विषय हो । निर्वाचित हुने राष्ट्रपतिमाथी कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँने भन्ने चुनौति सामुन्ने छ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ ।

कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ्ग) मार्फत करिब नौ करोड ७९ लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो ।