भारतले नेपाललाई उपहार दियो १० लाख डोज कोरोना खोप

भारतले नेपाललाई उपहार दियो १० लाख डोज कोरोना खोप

काठमाडौं, ७ माघ ।

भारतले नेपाललाई उपहार स्वरुप अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय दूतावासको संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री ह्रदयश त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज उपलब्ध गराएको जानकारी गराएका हुन् ।

भारतले उपलब्ध गराएको खोप भोली नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा उपलब्ध हुने खोप कोरोना विरुद्धको लडाइँमा अग्र भागमा रहेको स्वास्थ्यकर्मी चिकित्सिक, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायतलाई प्रयोग गरिने जानकारी दिए ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने नेपालका  भारतीय राजदूत विनय मोहन क्वात्राले बताए ।  राजदूत क्वात्राले यो भ्याक्सिन नेपाललाइ पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप दिएको बताए ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि गत शुक्रबार औषधि व्यवस्था विभागले अनुमति दिने निर्णय गरेको छ ।

सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।