रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान

रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान

पुस १५, ऐजेन्सी । 
रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । 

ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि र्पुयाएको बताएका छन् । ती क्षेप्यास्त्रहरूमा ’ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

पुटिनले मङ्गलवार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । उनले अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार नभएको बताएका छन् । पश्चिमा र अन्य राष्ट्रहरू रुसको पछि नै रहेको उनले दाबी गरे । 

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए ।