यो हो विश्वको सबैभन्दा सानो गाई, जो क्षणभरमै बन्यो सेलिब्रेटी

यो हो विश्वको सबैभन्दा सानो गाई, जो क्षणभरमै बन्यो सेलिब्रेटी

ऐजेन्सी, २६ असार । 
अहिले बंगलादेशमा रहेको एउटा सानो गाई सामाजिक संजालमा भाइरल बनिरहेको छ । ‘रानी’ नाम दिइएको सेलिब्रेटी गाईलाई हेर्न दैनिक मानिसहरुको भीड लाग्ने गरेको छ । 

२३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।

अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु राजधानी सहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा आइसकेका बीबीसीले जनाएको छ। यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्ड्र रेकर्डमा  निवेदन दिइसकेका छन् ।

एएफपी सँगै कुरा गर्दै  फार्मका व्यवस्थापक भने, "कोरोना भाइरसका कारण जारी लकडाउनमा समेत टाढा टाढाबाट मान्छेहरु रानीलाई हेर्न आएका छन् । धेरै मानिसहरु रानीसँग सेल्फी लिनका लागी आउछन् । मानिसको भीडले हामी थाकिसकेका छौँ।" 

फार्मका व्यवस्थापक हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर एग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ । ‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मनपर्छ र जब हामीले उसलाई आफ्नो पाखुरामा लिन्छौं । तब निकै खुसी हुन्छे ।’

अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।