लुगाले कोरोना रोक्ने दाबी गर्ने कम्पनीलाई अस्ट्रेलियामा लाखौँ डलर जरिवाना

लुगाले कोरोना रोक्ने दाबी गर्ने कम्पनीलाई अस्ट्रेलियामा लाखौँ डलर जरिवाना

ऐजेन्सी, १२ साउन । 
आफ्नो एउटा कपडाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड-१९ को विस्तारलाई रोकिदिएको दाबी गरेपछि अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने विभिन्न वस्त्र बनाउने एउटा कम्पनी कारवाहीमा परेको छ।

खेलकुदका विभिन्न लुगा बनाउने कम्पनी 'लोर्ना जेन' ले आफूले उत्पादन गरेका लुगालाई कोरोना विस्तार रोक्ने,  सबै रोग कारक कीटाणुको विस्तारू रोक्न आफ्नो परिधानमा 'अभूतपूर्व प्रविधि' प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो। उक्त कम्पनीको तथ्यहीन दाबीका लागि उसलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको छ।

सङ्घीय अदालतका एक न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी 'शोषणकारी, हिंसक र खतरनाक' भएको उल्लेख गरेका छन्। लोर्ना जेनले अदालतको आदेश स्वीकार गर्ने बताएको छ।

उक्त कम्पनीले प्रविधि आपूर्तिकर्ताले आफूलाई झुक्याएको दाबी गरेको छ।

'एउटा विश्वसनीय आपूर्तिकर्ताले हामीलाई एउटा उत्पादन बेच्यो तर त्यसले भने जसरी काम गरेन,' लोर्ना जेनका प्रमुख कार्यकारी बिल क्लार्कसनले भने।