पूर्वी चीनको इलेक्ट्रोनिक्स कारखानामा विस्फोट हुदा सात जनाको मृत्यु

पूर्वी चीनको इलेक्ट्रोनिक्स कारखानामा विस्फोट हुदा सात जनाको मृत्यु
तस्विर सौजन्य : NoiseBreak

 चैत १७, बेइजिङ (एजेन्सी) 

पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 

जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,” स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । 

उक्त प्रान्तमा नै गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका कारण ७८ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका थिए । चीनमा नियमित झैं हुने गरेका घातक दुर्घटनाहरुले कारखानाको सुरक्षाप्रति चीनमा बेवास्ता गर्ने गरिएको देखाएको छ । 

गत नोभेम्बरमा उत्तरी चीनको झाङजियाकाउ प्लान्टमा ग्यास चुहिएर भएको दुर्घटनामा २४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । सन् २०१५ मा उत्तरी तटीय शहर तियानजिनमा भएको रसायन उद्योग विस्फोटमा १६५ जनाको मृत्यु भएको थियो ।