बेलायती प्रधानमन्त्रीले गरिन पदबाट राजीनामा दिने घोषणा

बेलायती प्रधानमन्त्रीले गरिन पदबाट राजीनामा दिने घोषणा

जेठ १०, काठमाडौं । 
बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।

पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग गरेको सम्झौता उनको आफ्नै कन्जरभेटिभ पार्टीका नेताहरुले समेत रुचाएका थिएनन् । त्यसबाहेक उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीब्र दबाब रहँदै आएको थियो ।

त्यस्तै, हालै उनले विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने जनाएकी थिइन् । तर, लेबर पार्टीका नेता जेरेमी कोर्बेनले ईयूसँग मेले गरेको सम्झौतामा आधारभूत परिमार्जन नहुन्जेलसम्म प्रधानमन्त्रीसँग कुनै सहमति हुन नसक्ने जनाएका थिए ।

अब बेलायती संसद्मा सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको कन्जरभेटिभ पार्टीका नयाँ नेताले प्रधानमन्त्रीको पद सम्हाल्नेछन् । नयाँ कन्जरभेटिभ नेताको छनौट प्रक्रिया शुरु हुन भने केही समय लाग्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।