पत्रकार खासोज्जी हत्याको पाँच आरोपीलाई मृत्युदण्ड

पत्रकार खासोज्जी हत्याको पाँच आरोपीलाई मृत्युदण्ड

पुस ७, काठमाडौं । 
साउदी अरबको एक अदालतले पत्रकार जमाल खासोज्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ । 

साउदी सरकारको कडा आलोचक मानिएका पत्रकार खासोग्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।

कुनै समय साउदी राजपरिवारको निकट व्यक्ति मानिने खासोज्जी साउदी सरकारको सल्लाहकारका रुपमा समेत काम गरेका थिए । केही वर्ष अगाडि साउदी राजपरिवारको विश्वास गुमाएका कारण राजपरिवारबाट खतरा महसुस गरेका खासोग्जी सन् २०१८ मै अमेरिका निर्वासनमा गएका थिए ।

पत्रकार खासोग्जीको हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको विषय चर्चामा आएको थियो तर साउदी सरकारले खासोग्जीको हत्यामा राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै केही छाडा एजेन्टहरु ले घटना घटाएको आरोप लगाएको थियो । यद्यपि संयुक्त राष्ट्रसंघका एक अनुसन्धानकर्ताले खासोग्जीको हत्यालाई ‘राज्यद्वारा गरिएको हत्या’को संज्ञा पनि दिएका थिए ।

निर्वासनका क्रममा अमेरिकामा रहेका बेला उनले वाशिङ्टन पोस्टका लागि मासिक रुपमा स्तम्भ लेख्ने गरेका थिए । आफ्नो स्तम्भमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरुको कडा अलोचना गर्ने गरेका थिए ।