मिस नेपाल २०१९ को लागि आवेदन खुल्ला

मिस नेपाल २०१९ को लागि आवेदन खुल्ला
तस्विर सौजन्य : missnepal.com

फागुन १२, काठमाडौं ।  मिस नेपाल २०१९ को लागि आवेदन  खुलेको छ । आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै आयोजक ‘द हिडन ट्रेजर’ले  मिस नेपाल २०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो ।

इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले आयोजकले जनाएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।

‘द हिडन ट्रेजर’का अनुसार काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ । यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।

मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ ।

अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ ।