भूमिसम्बन्धी समस्या समाधान गर्न बुटवलका सबै वडामा सहजीकरण समिति

भूमिसम्बन्धी समस्या समाधान गर्न बुटवलका सबै वडामा सहजीकरण समिति

बुटवल, २० माघ । 
भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । 

उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् ।

उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए । 'भूमिसम्बन्धी कामलाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक ढङ्गबाट गर्ने तथा पूर्जा वितरण गर्ने गरी कार्यढाँचा बनाइएको छ,' नगरस्तरीय सहजीकरण समितिका संयोजक सुवेदीले भने, 'सङ्घीय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीयस्तरको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनका चरणबद्ध काम शुरु भइसकेका छन्।'

स्थानीय तहस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबसीको लगत सङ्कलन एकाई गठनसँगै बुटवल उपमहानगरका सबै वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका छन् । १२ सदस्य नगरस्तरीय सहजीकरण समिति भूमिसम्बन्धी समस्या समस्यालाई समाधान गर्ने र भूमिसम्बन्धी समस्या समाधान आयोगले जारी गरेको प्रमाणित कार्यविधि र भूमि ऐनका प्रावधानका आधारमा कामलाई प्रभावकारी बनाउने छ । 

प्रत्येक वडाबाट निवेदन फाराममार्फत भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आवश्यक तथ्याङ्क सङ्कलन, अव्यवस्थित बसोबासीको वर्गीकरण सम्बन्धी विवरण सङ्कलन गरि सङ्कलकले सङ्कलन गरेका विवरणलाई नगरस्तरीय समितिमा सिफारिस हुने  र यसैका आधारमा जग्गाको नाप नक्शा गरिने भएको छ ।