प्रधानमन्त्री ओलीलाई योगशको जवाफ: तपाईभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?

प्रधानमन्त्री ओलीलाई योगशको जवाफ: तपाईभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?

रामेछाप, ५ माघ ।

पूर्व पर्यटनमन्त्री तथा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले केपी ओलीलाई तपाईभन्दा बढी भोट ल्याएर जितेको हुँ र आफुलाई केटो भनेर जिस्क्याउन नहुने भन्दै जवाफ फर्काएका छन् ।

‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु’, भट्टराईले आक्रोश पोखेर जवाफ फर्काए, ‘मलाई केटो भनेर जिस्क्याउने ?’ 

केही दिन अघि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दौडिएर भोट मागेर चुनाव जिताएको केटो अहिले लात्तिले हानेर भएको भन्दै योगेशभट्टराईलाई आरोप लगाएका थिए । आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा त्यसको जवाफ फर्काउदै योगेशले भने ‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु, उहाँको छुट्टिएको छैन होला।'

‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, उनले भने, 'संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए।' ओलीका विकासका काम गर्न पार्टीभित्रैबाट अवरोध आएको जिकिरलाई गलत भएको बताउदै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, 'नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ?'

सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने ।