राप्रपाको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन

राप्रपाको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन
तस्विर : अनिल सापकोटा

चैत १, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुख र नेता कार्यकर्ताको सहभागितामा राप्रपले शक्ति प्रदर्शन गरेको हो।

शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको हो ।

फागुन ७ गते प्रधानमन्त्रीलाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन दिएको राप्रपा चैत्रको पहिलो साताबाट आन्दोलनमा उत्रिँदैछ।

हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको हो।
 

हेर्नुहोस् आजका केही तस्बिरहरू :