विप्लवलाई हतियार बिसाएर वार्तामा आउन सरकारको आह्वान

विप्लवलाई हतियार बिसाएर वार्तामा आउन सरकारको आह्वान
तस्विर सौजन्य : गाेकुल बास्काेटा (फेसबुक)

चैत ७, काठमाडौं । 
सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताएका छन् । 

विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गर्दै भने,“हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ । दशवर्षे द्वन्द्वको पीडा भोगेका शान्तिप्रेमी नेपालीले देशलाई प्रगतिपथमा अग्रसर गराउन चाहेको हो सरकारले ।"

कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असुली सधैँ-सधैँका निम्ति अन्त्य हुनुपर्ने  सरकारको मान्यता रहेको बताएका छन् ।