लुम्बिनीमा विदेशी लगानी गर्न तयार छन् : अर्थमन्त्री खतिवडा

लुम्बिनीमा विदेशी लगानी गर्न तयार छन् : अर्थमन्त्री खतिवडा
तस्वीरः युवराज पाण्डे, रासस


चैत १८, लुम्बिनी 
 विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । 

रुपन्देहीको धकधइमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, “लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ ।” 

 अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताए ।  आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया-बुटवल छ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको जानकारी दिए । 

बुटवलको सिद्धबाबामा टनेल वा अन्य प्रविधिका लागि स्वीस सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको बताउँदै उक्त आयोजना निर्माणमा पनि उनीहरुलाई नै अनुरोध गरेको र सकारात्मक भएको बताए । 

मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताए ।