मनमोहनको समृद्धि सपना यो सरकारले पूरा गर्छ : प्रधानमन्त्री ओली

मनमोहनको समृद्धि सपना यो सरकारले पूरा गर्छ : प्रधानमन्त्री ओली

बैशाख १३, काठमाडौं ।  
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मनमोहनको समृद्धि सपना यो सरकारले पूरा गर्ने बताएका छन् । 

पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)काअध्यक्ष मनमोहन अधिकारीको २०औं स्मृति दिवसका अवरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै देशलाई समृद्ध बनाउने, नेपाल कम्युनिष्ट आन्दोलनलाई विजयको शिखरमा पुर्‍याउने मनमोहन अधिकारीको सपनाअनुसार नै आफ्नो पार्टी अघि बढिरहेको दाबी गरे ।

मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताउदै प्रधानमन्त्री ओलीले भने, “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो, उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले मुलुकको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताए।

२०५१ सालमा जनताबाट निर्वाचित पहिलो कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बनाउन सफल मनमोहन अधिकारीको २०५६ साल बैशाख १३ गते अर्थात् आजकै दिन निधन भएको थियो।

उनको स्मरणमा प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले स्वर्गीय मनमोहन अधिकारीको शालिकमा माल्यअर्पण समेत गरेका थिए।