प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न : प्रधानमन्त्री, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न : प्रधानमन्त्री, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?
file photo

वैशाख २०, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा बजेट पार्न भन्दै राष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

देशको प्रधानमन्त्रीले सबैतिर समुचित ढंगले विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी बजेट पार्न भूमिका खेलेकोमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका हुन्।

प्रवक्ता शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई सोधेका छन्, 'तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्रमा प्रधानमन्त्रीको क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा समावेश गर्नुपर्ने योजनाका सूची पठाएपछि कांग्रेसले विरोध गरेको हो।

पत्रमा बजेट पार्नुपर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत बेग्लाबेग्लै योजना रहेका छन्।