असफल भएको महसुस हुनासाथ मन्त्री पद छाड्छु : पर्यटनमन्त्री भट्टराई

असफल भएको महसुस हुनासाथ मन्त्री पद छाड्छु : पर्यटनमन्त्री भट्टराई

साउन १६, काठमाडौं । 
नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ आफूले मन्त्री पद छाड्ने बताएका छन् । 

मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्ना लागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए । बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’ 

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए ।