सरकारको राम्रो कामको समर्थन गर्छौं : सभापति देउवा

सरकारको राम्रो कामको समर्थन गर्छौं : सभापति देउवा
file photo

साउन २१, स्याङ्जा । 
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताएका छन् ।

सोमबार काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभा स्याङ्जामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाउदै  भने, ‘सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो । ‘

‘मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् ।’ उनले भने, ‘जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।’

फरक प्रसङ्गमा सभापति देउवाले काङ्ग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्ने बताए । स्व. पङ्गेनी एक कर्मठ नेता भएको र उनलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकारले जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाए ।