कृष्ण जन्माष्टमीमा स्वास्थ्यमन्त्रीको शुभकामना : सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्

कृष्ण जन्माष्टमीमा स्वास्थ्यमन्त्रीको शुभकामना  : सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्
file photo

२७ साउन, काठमाडौं । 
श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । 

स्वास्थ्यमन्त्री ढकालले मङ्गलबार थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्नेलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन ।

‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु ।' सम्बोधनका क्रममा मन्त्री ढकालले भने, 'चाहे ती मेरा घरभित्र बसेका हुन् वा ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन्, सरकारको आलोचना गरेर लडाइँका अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन ।’

सत्ताको लडाइँ लागेका नेकपाको नेताहरुलाई मन्त्री ढकालले सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत आग्रह गर्दै भने, ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दा खेरी पनि केही बिग्रिँदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढङ्गले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौँ ।'