९ दिनपछि ओली-दाहालबीच भेटवार्ता

९ दिनपछि ओली-दाहालबीच भेटवार्ता

२९ साउन, काठमाडौं । 
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता ठोस निष्कर्ष विनै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर पनि ठोस सहमति भने नभएको दाहालको सचिवालयले जानकारी दिएको छ ।

दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्तामा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ । 

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

दुई अध्यक्ष शुक्रबार पुनः वार्तामा बस्ने सहमति भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।