माधवकुमार नेपाल भन्छन् कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय अनुत्तरदायी

माधवकुमार नेपाल भन्छन् कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय अनुत्तरदायी

काठमाडौं, ४ कार्तिक ।
सरकारले कोरोना संक्रमितको उपचार खर्च संक्रमित स्वयमले ब्यहोर्ने भनेपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि विज्ञप्ति निकालेका छन् ।

नेता नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दे कोरोना संक्रमितको उपचार नगर्ने भनेर सरकारले गरेको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता गर्न माग गरेका छन् ।

'संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय बिल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन,' नेता नेपालले भनेका छन्, 'संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।'