लालटिन बालेर सडकमा निस्कियो अनेरास्ववियू

लालटिन बालेर सडकमा निस्कियो अनेरास्ववियू

काठमाडौं, २२ पुस । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन समुह प्रचण्ड–नेपाल पक्ष को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज माइतीघरमा लालटिन बालेर प्रदर्शन गरेका छन्।

हिजो दोश्रो चरणको आन्दोलन घोषणा गरेको  प्रचण्ड–नेपाल पक्षधरका अनेरास्ववियूको केन्द्रीय कमिटीले दिउँसो काठमाडौंको माइतीघर मण्डलादेखी बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन्। विरोध कार्यक्रम माइतीघर देखी बानेश्वर सम्म आइपुगेर कोण सभामा परिणत भएको हो।   

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको गल्ती नसच्याए मन्त्रीहरुलाई मोसो दल्ने चेतावनी दिए । 

“संविधानलाई अपमान गरिएको कुरा हामीलाई स्वीकार्य छैन,’’ सह-संयोजक  तामाङले भने, “देश विकासमा लाग्नुको सट्टा कमेडी गरेर बस्ने ओलीलाई २६ गते बलयगाडामा राखेर अमेरिका खेदाउँदै छौं,’’

लालटिन जुलुसमा अनेरास्ववियूका सह-संयोजक रञ्‍जित तामाङ्ग, नेताहरु सुरेन्द्र बस्नेत, नरेश रेग्मी, पंचा सिंह, सुदेश पराजुली, भूमीराज अधिकारी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रचण्ड–नेपाल पक्षधरको अनेरास्ववियूले मंगलबारदेखी दोस्रो चरणको आन्दोलनमा मन्त्रीहरुलाई कालोझण्डा देखाउने देखि, लाठी जुलुस, लालटिन जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनल, ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन लगायतका कार्यक्रम तय गरिएको छ।