प्रचण्ड-नेपाल समूहलाइ ओलीको प्रश्न , निर्वाचनमा जान किन डराएको?

प्रचण्ड-नेपाल समूहलाइ ओलीको  प्रश्न , निर्वाचनमा जान किन डराएको?
file photo

काठमाडौं, ३ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूह निर्वाचनमा जान डराएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रको नाम जप्ने तर चुनावमा जान डराउने गरेको टिप्पणी गरे । उनले भने,'निर्वाचन सम्झिएपछि थरररर केही ! सपनमा पनि चुनाव देखेपछि ब्यूझन्छन् तिनीहरु ।'

आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर?नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए । 

उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको? भनी प्रश्न गरे ।

उनले संवैधानिक इजलासमा भएका न्यायाधीसहरुले भेटेको विषयमा पनि खण्डन गरे । उनले सपना प्रधान मल्ललाई सार्वजनिक कार्यक्रममा देखेपनि अन्यय न्यायधीसलाई नचिनेको बताए ।