गृहजिल्ला पुगेर कांग्रेस नेता रामचन्द्रले भने, 'गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्छ'

गृहजिल्ला पुगेर कांग्रेस नेता रामचन्द्रले भने, 'गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्छ'

काठमाडौँ, माघ २०। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्ने बताएका छन् । 

तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिए । 

वरिष्ठ नेता पौडेलले सङ्घीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भए पनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताए । “खण्डहर बन्दै गएको गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्छ”, उनले भने, “गाउँमै हुर्किएको व्यक्ति भएकाले गाउँका सबै समस्या मलाई थाहा छ, म सोही अभियानमा छु ।”

वरिष्ठ नेता पौडेलले गाउँको विकासका लागि केही गरेन भनेर आरोप लाग्ने गरेको बताउँदै त्यस्ता आरोप लगाउनेले झन जिल्लामा विकासको सिन्को नभाँचेको टिप्पणी गरे । “रामचन्द्र पौडेलले केही गरेन भन्नेहरुले जिल्लाको विकासका लागि के गरे? अब सोध्ने बेला आएको छ, मैलेजस्तो छाडेको थिएँ, त्यस्तै छ”, उनले भने । 

वरिष्ठ नेता पौडेलले संविधानमा कुनै व्यक्तिले संसद् विघटन गर्न नपाउने प्रष्ट लेखेको हुनाले अदालतले उक्त कदम सच्याउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताले ठूलो विश्वास गरेर कम्युनिष्टलाई मत दिए पनि सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।