प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ: उपप्रधानमन्त्री पोखरेल

प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १४ फागुन ।  
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसदमा डटेर सामना गर्ने बताएका छन् । 

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद नै सामना गर्ने बताएका हुन् ।

नेता पोखरेलले नेकपाको प्रचण्ड नेपाल समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन समेत चेतावनी दिएका छन् । 

“प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ,” उनले भने, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।” नेता पोखरेलले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउँदै प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने बताएका छन् ।  

उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए ।