ओलीको प्रश्न, 'निर्वाचनमा जाँदा लोकतन्त्र कसरी सङ्कटमा पर्छ ?'

ओलीको प्रश्न, 'निर्वाचनमा जाँदा लोकतन्त्र कसरी सङ्कटमा पर्छ ?'
file photo

काठमाडौं, १७ चैत ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले  मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गरे । “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ । त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ?,” प्रधानमन्त्री ओलीले प्रश्न गरे ।  

केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको ओलीले बताए । प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभाष भएको प्रतिक्रिया दिए।