'सानो माछामात्र होइन, ठूलो पनि समाऊ' भन्दै अख्तियारमा विवेकशील साझाले बुझायो ज्ञापन पत्र

'सानो माछामात्र होइन, ठूलो पनि समाऊ' भन्दै अख्तियारमा विवेकशील साझाले बुझायो ज्ञापन पत्र

फागुन १४, काठमाडौं । 'सानो माछामात्र होइन, ठूलो पनि समाऊ' अभियान अन्तर्गत  विवेकशील साझा पार्टीका नेता र कार्यकर्ताले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  ज्ञापनपत्र बुझाएका छन् । 

प्रदेश ३ की संयोजक समिक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा भ्रष्टचार बिरोधी  पम्पलेट प्रदशन गर्दै  ज्ञापनपत्र बुझाएका हुन्  ।

अर्बौं भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कार्वाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ ।

आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’, 'समाजवाद नाङ्गियो,माफियातन्त्र झाङ्गियो', 'हाम्रो शत्रु भ्रष्टचार कुशासन र माफियावाद' लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

विवेकशील साझा पार्टीले वाईडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अर्बौंको भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई तत्काल कार्वाहीको दायरामा ल्याउन आयोगलाई दवाव दिँदै आएको छ ।