रहेनन् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी

रहेनन् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी
तस्विर सौजन्य : janaboli

फागुन १८, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

 शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो  । नेता अधिकारी बिगत १७ दिनदेखी ह्याम्स अस्पतालको भेन्टीलेटरमा उपचाररत थिए । 

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । 

नेता अधिकारी ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा पनि चिनिन्छन् ।

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा भोलि बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी दिएका छन् ।