ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ति

ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ति

अनिल सापकोटा
काठमाडौं, ९ भाद्र ।
 
सरकारले डाक्टर उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा नियुक्ति गरेको छ । 

उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत रहेका कोइरालालाई मन्त्रीस्तरीय निर्णयमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्।

बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि वाणिज्य बैंकको अध्यक्ष पद हाल रिक्त  छ । रक्षामन्त्री पोखरेलको दवावमा उनलाई उक्त पदमा नियुक्त गरिएको स्रोतले जानकारी दियो।

वाणिज्य बैंकको अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था रहेको छ। बैंकको अध्यक्षमा कोइरालालाई नियुक्त गर्ने तयारी सहित लाभको पद दिइएको हो।  बैंकले बुधबार संचालक समितिको बैठक राखी कोइरालालाई अध्यक्षमा चयन तयारी रहेकाे स्रोतले बतायो ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफा लगायतका सूचकका आधारमा देशकै अग्र स्थानको बैंक हो । बैंकको नेतृत्वमा नातावाद र कृपावादका आधारमा कुनै व्यक्तिलाई नियुक्ति गर्न उपयुक्त नहुने जानकारहरु बताउँछन् ।

कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् । उनलाई नियुक्ति प्रक्ररण २०५१ सालको तत्कालीन नेकपा एमाले सरकारको पालामा  खाद्य संस्थानको महाप्रबन्धक बनाएपछि सुरु हुन्छ भने हाल सातौ पटकको नियुक्तिमा उनलाई राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा गरिएको हो । 

विगतदेखि नै लाभको पद हात पारिराखेका कोइरालाले सम्हालेका पदहरुमा उनको छाप भने राम्रो पाइदैन। उनको धेरै कार्यकाल विवादमा तानिएको छ भने कतिपय ठाउँमा त विवाद कै कारण बिचमै राजीनामा दिएका घटना छन्।

सधै लाभको पद पाइरहेका कोइरालाको यसपटकको नियुक्ति विषयमा भने उनको चर्काे आलोचना भइरहेका छ । उनको नियुक्तिको विषयलाई लिएर समाजिक संजालमा उपप्रधानमन्त्री पोखरेलसँग जोड्दै आलोचना भइरहेको छ।