जनमतलाई लोप्पा

जनमतलाई लोप्पा

२ असोज, काठमाडौं ।   
सर्लक्क अग्लो ज्यान, खैरो कोट, शिरमा कालो भादगाउँले टोपी वरिपरी फुलेर सेताम्य भएको कपाल मुस्कुराएको अनुहार उभिरहेका छ ।  खैरो कोट, शिरमा कालो भादगाउँले टोपी र सेतो माक्स लगाएर उसको नजिक एकजना मान्छे जान्छ हातमा भएको ब्याच लगाइदिन्छ, हल तालिले गुञ्जयमान हुन्छ । ब्याच पाउने मान्छे अझ मुस्कुराउछ, खुसी हुन्छ । 

माथी प्रस्तुत गरिएका पात्रहरु  बामदेव गौतम र गणेशप्रसाद तिमिल्सिनाका हुन् । ब्याच  लगाइदिने  राष्ट्रिय सभाका अध्यक्ष हुन भने ब्याच लगाउन पाउदा दङ्ग परेका २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेर त्यतिखेर राष्ट्रिय सभाको ब्याच लगाउनबाट वञ्जित  भएका बामदेव गौतम हुन् । 

अहिले बामदेव खुसी छन् । दङ्ग छन् । चुनाव हारेर पनि राष्ट्रिय सभाको प्रतिक ब्याच लगाउन पाउदा उनी हर्षित छन् । बामदेव आफू खुसी हुन चक्करमा जनमतलाई सिधै लत्याएका छन् । जनताको अभिमत भन्दा माथी आफूलाई ल्याउन सफल भएको मित्था गर्व गर्दै छन् । यो क्रियाकलापले प्रधानमन्त्री ओली तथा नेकपाका नेता तथा कार्यकर्ता लगायत सम्पूर्ण नेपालीको अनुहारमा कालो पोतिदिएको छ । यसले अन्तराष्ट्रिय जगतमा पनि नराम्रो सन्देश दिएको छ । जनताको भोटको अवमूल्यन भएको छ । यो क्रियाकलापले अब  आउने निर्वाचनमा नेकपालाई ठूलो धक्का पर्ने देखिन्छ । यस्तो अप्रजातान्त्रिक गनिविधी हुदा समेत  सुशासन समितिको हलमा दिउँसै कुशासनको अभ्यास हुदा संवैधानिक व्यवस्था हार मानेको छ र बामदेवको दम्भले जितेको छ ।  

दलिय  स्वार्थले जसरी वामदेवलाई  चोर बाटोबाट  राष्ट्रिय सभामा लगियो यो कात्तर अभ्यासले  मतदाताको शिर निमोठिएको छ । जनमतलाई लात हानिएको छ । उत्कृष्ट कामले जवाफ दिएका कुलमानलाई बिनाकारण कार्यकाल नथपेको सरकारले चुनावमा फेल भएका बामदेवलाई कार्यकालको टिका लागाईदिदा सरकारको नजर के मा छ भन्ने स्पष्ट छ ।  

चुनाव हारेको कुनै पनि व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने विषय संविधानको मर्म र यसले परिकल्पना भन्दा बाहिरको कुरा हो । विश्वकै सर्वउत्कृष्ट संविधाननै भएपनि  संसदीय प्रणालीको गरिमा उठ्नै नसक्ने गरी थेचार्न कुनै पनि उपियाँजस्तो सरकारलाई छुट छैन् । 

हामी यस वर्षको संविधान दिवसको पूर्वसन्ध्यामा छौ । संविधानमा सर्वशक्तिमान मानिएको जनताको हिजोमात्रै अपमानको गरिएको छ । शिर निहुराइएको छ । लोकतान्त्रिक संविधानको धज्जी उडाइएको छ । मतदातालाइ गिज्याइएको छ । संविधानको मूल्य मान्यताको भव्यताले सम्मान गर्ने अवसरमा शोक मनाउनुपर्ने अवस्था छ ।