कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

९ पुस, काठमाडौं ।
लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । 

कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् ।

 नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार आज उद्योगले  ७० रुपैयामा प्रतिगोटा ब्रोयलर चल्ला बिक्री गरेका छन् । उनका अनुसार कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा  १२५ र ब्रोयलरको  ७० मा बिक्री भइरहेको छ । 

नेपालमा ३२४ वटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ । यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उनको भनाइ छ । 

अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट ९३० गोटा० रु ३४५ मा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु ११।५३ हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताउनुभयो । तीन वर्ष अघि प्रतिक्रेट रु ३६० पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो । 

हाल देशभरमा दुई हजार ७०० किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको सङ्घको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ । 

नेपाल दाना अण्डा वितरक सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो रु ३३० मा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य रु २१० कोे हाराहारीमा पाएका छन् । अहिलेको बजार भाउ लागत मूल्यभन्दा बढी भएको उनले जानकारी दिए । 

कोरोना सङ्क्रमणको समयमा जिउँदो कुखुरा रु ९० प्रतिकिलोमा बिक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ । उनले भने, “कुखुरा पाल्ने किसानको लागत मूल्यभन्दा बढी आम्दानी होस् भनेर हामीले आम जनतालाई मासु र अण्डाको बारेमा प्रचारप्रसार समेत गरेका छौं ।”

कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो रु सात र भटमासमा  १२ वृद्धि भएको उनले जानकारी दिए ।