पुनःनिर्माण मनमोहक देखियो रानीपोखरी : राष्ट्रपतिद्वारा उद्घाटन

पुनःनिर्माण मनमोहक देखियो रानीपोखरी : राष्ट्रपतिद्वारा  उद्घाटन

काठमाडौं, ५ कार्तिक ।


२०७२ सालको भूकम्पपछि स्वरुप बिग्रएर कुरुप बनेको रानीपोखरी पुनःनिर्माण पछि चिटिक्क देखिएको छ ।

भूकम्पपछि क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट पुनःनिर्माणपछि रानीपोखरी मनमोहक देखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् ।

२०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन ।

रानीपोखरी उद्घाटनको अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरेकी छन् ।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।