एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं, १५ फागुन ।  
पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । 

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत तथा स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि यस वर्षका लागी आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने ब्रत गरेका ब्रतालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी कामना गरिन्छ । 

देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । 

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । 

शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत विधिवत रूपमा समापन हुन्छ ।