मेस्सीको ५०औं ह्याट्रिकसँगै बार्सिलोनाको जित

मेस्सीको ५०औं ह्याट्रिकसँगै बार्सिलोनाको  जित
तस्विर सौजन्य : CBS Sports

फागुन १२, काठमाडैं । ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका जितमा कप्तान लियोनल मेस्सीले ५०औँ ह्याट्रिक पूरा गर्दै फराकिलो अन्तरले टिमलाई जित दिलाए । २२औं मिनेटमा नाभासले गोल गर्दै घरेलु सेभियालाई अग्रता दिलाएका थिए । त्यस्तै, २६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । मेर्काडोले खेलको ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म सेभियालाई २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो । ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरी दिलाए । त्यस्तै, उनले ८५ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको अतिरिक्त समयमा स्वारेजले गोल गर्दैै बार्सिलोनालाई ४–२ गोलको जित दिलाएका हुन् ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ । पराजित सेभियाको ३७ अंक छ ।