आफ्नै मैदानमा बार्सिलोनासँग फेरि हार्‍यो रियल मड्रिड

आफ्नै मैदानमा बार्सिलोनासँग फेरि हार्‍यो रियल मड्रिड

फागुन १९,काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई फेरि उसैको मैदानमा स्तब्ध बनाएको छ ।

 शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा शीर्ष टोली बार्सिलोनाले कट्टर प्रतिस्पर्धी रियललाई १–० गोलले हराएको हो । बार्सिलोनाको जितमा इभान राकिटिकले निर्णायक गोल गरे ।

खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

यस जितसँगै बार्सिलोनाले २६ खेलबाट कूल ६० अंक बनाएको छ । समान खेलबाट ४८ अंक बनाएको रियल तेस्रो स्थानमा छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक छ । 

ला लिगा अन्तर्गत शनिबार रातिनै भएको अन्य खेलमा स्पान्योलले रियल भालाडोलिडलाई ३–१, डिर्पोटिभो अलाभेसले भिल्लारियललाई २–१ र एसडी हुयस्का सेभिल्लालाई २–१ गोलले पराजित गरेको छ ।