लज्जास्पद हारसँगै च्याम्पियन्स लिगबाट बाहिरियो रियल

लज्जास्पद हारसँगै च्याम्पियन्स लिगबाट बाहिरियो रियल
तस्विर सौजन्य : Evening Standard

फागुन २२, काठमाडौं । 
१३ पटकको युरोपियन च्याम्पियन रियल मड्रिड  पछिल्लो २२ वर्षमा च्याम्पियन्सको लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । 

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भएको हो । पहिलो लेगमा २–१ को जीत हासिल गरेको रियल दोस्रो लेगमा भने ४–१ गोलअन्तरले पराजित हुनपुग्यो । समग्रमा रियल मड्रिडले ५-३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट यो सिजनका लागी बाहिरिएको हो ।

युरोपियन प्रतियोगितामा घरेलु मैदानमा रियलले बेहोरेको यो सबैभन्दा ठूलो हार हो । यता, आयाक्स भने २२ वर्षमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको ७ औँ मिनेटमा नै आयाक्सले हाकिम जेयेचको गोलको मद्दतले अग्रता बनाएको थियो भने डेभिड नेरेसले १८ औँ मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफमा ट्याडिचले नै आयाक्सका लागि तेस्रो गोल गरे ।

खेलमा २० मिनेट बाँकी छँदा मार्को असेन्सियोले रियलका लागि एक गोल फर्काए पनि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो । दुई मिनेटपछि नै आयाक्सका मिडफिल्डर लासे स्कोनेले अर्को गोल थपे । समग्रमा रियल मड्रिडले ५-३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । 

कप्तान सर्जियो रामोश बिना रियलको डिफेन्स निकै कमजोर बन्दा लज्जास्पद हार खेप्यो।  इन्जुरी समयमा नाचोले दोस्रो पहेँलो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।