भारतसँग फेरि हार्‍यो नेपाल

भारतसँग फेरि हार्‍यो नेपाल
तस्विर सौजन्य : .footcricnepal

चैत २३, काठमाडौं । 
 ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिर प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।

शनिबार म्यानमारमा भएको खेलमा भारतले नेपालमाथि ३-१ गोल अन्तरको जित निकालेको हो ।

एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । ओलम्पिक छनोटमा पनि भारतले नेपालमाथि आफ्नो प्रभाव कायमै राख्यो ।

छैटौं मिनेटमा पुनम जर्गा मगरले गरेको आत्मघाती गोल  उपहार गोलबाट अग्रता लिएको भारतको खुसी धेरैबेर टिक्न सकेन । एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा भने भारत हावी भयो । ६० औं मिनेटमा भारतले २-१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३-१ को जित निकाल्यो ।