सावित्रा भण्डारी र अनिता बस्नेतले हिरो इन्डियन महिला सुपर लिग खेल्ने

सावित्रा भण्डारी र अनिता बस्नेतले हिरो इन्डियन महिला सुपर लिग खेल्ने
तस्विर सौजन्य : GoalNepal

चैत २६, काठमाडौं । 
राष्ट्रिय महिला फुटबल टिमका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला सुपर लिग खेल्ने भएका छन् । 

पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका दुई महिला खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने पक्का भएको हो । नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धन हुन लागेका यो पहिलो पटक हो ।  

तेस्रो संस्करणको हिरो महिला लिग केही महिनामै सुरु हुदै छ । नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले अनिता र सावित्राले भारतीय लिग खेल्ने पक्का भएको बताएका छन्। प्रशिक्षक खड्काका अनुसार सावित्रालाई गोगुलमले प्रस्ताव गरेको छ । अर्को क्लब सेतुले अनिता र सावित्रा अनुबन्धनको प्रस्ताव गरेको छ ।

नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवैको प्रेरणादायी प्रर्दशनमा नेपालले साफको फाईनल यात्रा तय गरेको थियो ।

 यस अघि सावित्रा र अनिताले माल्दिभ्सको फुटसल लिग खेलेका थिए ।